यूएनको महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्ने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् ।

न्युयोर्क भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । यसपटक महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा कुल १४ जना रहनेछन् ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ ।

कार्यक्रमअनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा काठमाडौं फर्किनेछन् भने परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २९ मा नेपाल आइपुग्नेछन् ।