एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । २०औँ एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित कार्यक्रममा राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएका थिए ।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले देशमा आएको बाढीको दुःखद घटनापछि नेपाली क्रिकेट टोलीसँग समग्र देशलाई खुसी दिने अवसर रहेको बताए । उनले खेलाडीहरूलाई आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

‘देशमा आएको बाढीको दुखद घटनापछि समग्र देशलाई नै खुसी दिने अवसर छ । सबैजनालाई आफ्नो बेस्ट दिनुहोला भन्न चाहन्छु,’ उनले भने ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले नेपाली क्रिकेट टोलीले पदक जित्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई शुभकामना दिए । ‘क्रिकेट टोलीलाई शुभकामना छ । क्रिकेटले पदक जित्नेछ भन्ने विश्वास राखेका छौँ । सबैजना राम्रो गर्नुहोला,’ उनले भने ।

नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित आफूहरू जापान जान लागेको बताए । उनले खेलाडीहरूको मनोबल उच्च रहेको पनि उल्लेख गरे ।

‘हाम्रो लक्ष्य पदक जित्ने नै हो, त्यसैका लागि जाँदै छौँ । खेलाडीहरूको मनोबल उच्च छ,’ कप्तान ऐरीले भने ।

नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले क्वार्टरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्ने बताए । उनले नेपाली खेलाडीहरूमा त्यसका लागि आवश्यक क्षमता रहेको विश्वास व्यक्त गर्दै पदक जित्ने आशा राखेको बताए ।

‘हामीले क्वार्टरफाइनलबाट अगाडि बढ्न राम्रो क्रिकेट खेल्नुपर्छ । हाम्रा खेलाडीहरूले त्यो गर्न सक्छन् भन्ने विश्वास छ । आशा छ, हामी कुनै पदक अवश्य जित्न सक्नेछौँ,’ उनले भने ।

एसियन गेम्सको समूह चरणमा नेपालले अफगानिस्तान र जापानसँग प्रतिस्पर्धा गर्नेछ । क्वार्टरफाइनलमा भने नेपालको भेट भारत वा श्रीलंकासँग हुनेछ ।

नेपाली क्रिकेट टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल ।