जापानमा २०औँ एसियन गेम्सको भव्य उद्घाटन, नेपालको प्रतिस्पर्धा आइतबारदेखि

नागोया (जापान) । एसियाको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता २०औँ एसियन गेम्सको शनिबार जापानको आइची–नागोयास्थित मिजोहु स्टेडियममा औपचारिक उद्घाटन भएको छ ।

जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन भएको घोषणा गरेका थिए । जापानको राष्ट्रिय गान र झण्डोत्तोलनसँगै उद्घाटन समारोह सुरु भएको थियो ।

समारोहमा विभिन्न सांस्कृतिक नृत्य तथा सांगीतिक प्रस्तुति राखिएको थियो । संगीतकार तारो हाकासेले पनि आफ्नो प्रस्तुति दिएका थिए । अन्त्यमा एसियन गेम्सको टर्च प्रज्वलन गरेपछि उद्घाटन समारोह सम्पन्न भएको थियो ।

उद्घाटन समारोहमा जापानका सम्राट नारुहितो, महारानी मासाको, राजकुमार अकिसिनो, २०औँ एसियन गेम्स आयोजक समितिका अध्यक्ष ओहमुरा हिदेइकी तथा ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) का शेख बिन जोआन बिन हमाद अल थानीलगायतको उपस्थिति थियो ।

प्रतियोगितामा सहभागी ४५ वटै राष्ट्र र शरणार्थी टोलीका खेलाडीले मार्चपास गरेका थिए । समारोहमा खेलाडी तथा निर्णायकको प्रतिनिधित्व गर्दै एक–एक जनाले शपथसमेत लिएका थिए ।

यस संस्करणमा एसियाका ४५ राष्ट्र र शरणार्थी टोलीका गरी ११ हजारभन्दा बढी खेलाडी सहभागी छन् । बास्केटबल, फुटबल, क्रिकेट, भलिबल, मोडर्न पेन्टाथलन, टेकबल, हक्की र सफ्ट टेनिसलगायतका खेल सुरु भइसकेका भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने शनिबार गरिएको हो ।

मार्चपासका क्रममा नेपालको राष्ट्रिय झण्डा बक्सिङ खेलाडी चन्द्रबहादुर थापामगर र महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले बोकेका थिए ।

थापाले विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य पदक जितेका थिए । त्यस्तै, विष्ट चीनको हान्झाउमा आयोजित १९औँ एसियन गेम्समा महिला कबड्डीतर्फ कांस्य पदक जित्ने नेपाली टोलीकी सदस्य थिइन् ।

२१ खेलमा नेपालका १३५ खेलाडी सहभागी हुँदै

२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यसअघि नेपाली टोलीको बिदाइका क्रममा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकसहित २११ सदस्यीय टोली सहभागी हुने जानकारी दिइएको थियो ।

तर, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, मन्त्रालयका सचिव चुडामणि पौडेल र नेपाली टोलीका ‘सेफ दी मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता जापान आएका छैनन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेल कार्यव्यस्तताका कारण जापान नआएका हुन् । सदस्यसचिव मेहता भने १०औँ राष्ट्रिय खेलकुदको तयारीमा व्यस्त रहेकाले जापान नगएका बताइएको छ ।

सुरुमा नेपालले २२ खेलमा सहभागिता जनाउने तय भएको थियो । तर, अन्तिम समयमा ब्रेकिङ डान्सका खेलाडी सहभागी नहुने भएपछि नेपालको खेल संख्या घटेर २१ मा सीमित भएको हो ।

सदस्यसचिव मेहता जापान नआएपछि राखेपका उपाध्यक्ष विशाल श्रेष्ठलाई नयाँ ‘सेफ दी मिसन’ नियुक्त गरिएको छ । उनी शुक्रबार टोकियो पुगेका थिए । शनिबार बिहान राखेपले उनलाई नयाँ ‘सेफ दी मिसन’ नियुक्त गरिएको जानकारी दिएको हो ।

मन्त्री पोखरेल पनि शुक्रबार नै नागोया आउने तालिका रहेको थियो । उनलाई स्वागत गर्न विमानस्थलमा एसियन गेम्सका स्वयंसेवकसमेत उपस्थित भएका थिए ।

जापानमा तेस्रोपटक एसियन गेम्स

हरेक चार वर्षमा आयोजना हुने एसियन गेम्सको सुरुवात सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो । जापानले यसपटक तेस्रोपटक एसियन गेम्स आयोजना गरेको हो । यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोशिमामा एसियन गेम्स आयोजना गरिएको थियो ।

यस संस्करणको विशेषतामध्ये खेलाडीको आवास व्यवस्थापन पनि एक हो । आयोजकले छुट्टै एथ्लेट भिलेज निर्माण नगरी खेलाडी तथा अफिसियललाई क्रुज सिप, कन्टेनर र होटलमा राख्ने व्यवस्था गरेको छ ।

इटालीबाट ल्याइएको क्रुज सिपमा ४ हजार ५०० भन्दा बढी खेलाडीलाई राख्ने व्यवस्था गरिएको छ । यद्यपि, खेलाडीको आवास तथा व्यवस्थापन प्रभावकारी नभएको भन्दै चीन, भारतलगायत विभिन्न देशले गुनासो गरिरहेका छन् ।

एरिकाको प्रतिस्पर्धा आइतबार

२०औँ एसियन गेम्समा नेपालको महिला भलिबल टोलीले समूह चरणका दुवै खेल खेलिसकेको छ । अब आइतबारदेखि नेपाली खेलाडीले अन्य विधामा पनि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालबाट पदकको आशा गरिएकी कराते खेलाडी एरिका गुरुङले आइतबार प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६८ केजीमाथिको तौल समूहमा सहभागिता जनाउनेछिन् ।

त्यस्तै, करातेका अन्य खेलाडी मीनबहादुर तामाङ, राकेश मानन्धर र सानुमाया थिङले पनि आइतबार प्रतिस्पर्धा गर्ने कार्यक्रम छ ।

महिला भलिबल टोलीले क्लासिफिकेसन म्याचअन्तर्गत आइतबार किर्गिस्तानसँग खेल्नेछ । यसबाहेक पौडी, उसु र टेबलटेनिसका नेपाली खेलाडीले पनि आइतबार प्रतिस्पर्धा गर्नेछन् ।