परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत र प्रभावकारी बनाउन पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ ।

जलवायु परिवर्तन र त्यसबाट उत्पन्न प्रभावलाई मध्यनजर गर्दै वर्तमान आवश्यकताअनुसार शाखा स्थापना गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री शिशिर खनालको सचिवालयले जनाएको छ ।

मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसङ्घ तथा विशिष्टीकृत सङ्घसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’ स्थापना गरिएको हो ।

नेपालले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय सहभागिता जनाउँदै आएको छ । यस्ता प्रयासलाई थप समन्वित र संस्थागत रूपमा अघि बढाउने उद्देश्यले नयाँ शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै यस विषयसँग सम्बन्धित राष्ट्रिय निकायहरूसँग आवश्यक समन्वय गर्नेछ ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलन तथा कार्यक्रममा सहभागितामा मात्र सीमित नराखी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागितामा मात्रै केन्द्रित हुँदा जलवायु कूटनीतिको सामर्थ्य विस्तार हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।