जुम्ला – रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमुना सङ्कलन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालका अनुसार पातारासी गाउँपालिकाका ३३ जना र गुठीचौर गाउँपालिकाका छ जनाका आफन्तको डीएनए नमुना सङ्कलन गरी ललितपुरस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहयोगमा पातारासी र गुठीचौरका आफन्तको रगतका नमुना सङ्कलन गरिएको हो । सङ्कलित नमुनामध्ये ३९ वटाको डीएनए परीक्षण भइसकेको र बाँकी नमुना सङ्कलनको काम काठमाडौँमा भएको जानकारी प्राप्त भएको उहाँले बताए ।
नमुनाको प्रोफाइल तयार गरी डीएनए मिलान गरेपछि पहिचान भएका शव परिवारलाई हस्तान्तरण गरिने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परी जुम्लाका ९३ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये हालसम्म ३० जना सम्पर्कमा आएका छन् भने ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ ।






