प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहायता जुट्ने क्रम जारी छ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

कार्यालयका अनुसार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।