पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी ,अलिमा खान पक्राउ

इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलिमा खान पक्राउ परेकी छन्। आगामी सेप्टेम्बर २७ मा इमरान खानको समर्थनमा आयोजना हुन लागेको विरोध प्रदर्शनअघि उनलाई पक्राउ गरिएको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीले पुष्टि गरेको छ।

पीटीआईका अधिकारीहरूका अनुसार अलिमालाई आइतबार दिउँसो पूर्वी सहर लाहोरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। पार्टीले उनको गिरफ्तारीलाई गैरकानुनी हिरासतको संज्ञा दिएको छ। उनका छोरा शहरेज खानले पनि तत्काल रिहाइको माग गरेका छन्।

लाहोरका डेपुटी कमिसनरको आदेशमा अलिमाले सामाजिक सञ्जाल र सार्वजनिक सभामार्फत इमरान खानका समर्थकहरूलाई सङ्गठित गरिरहेको आरोप लगाइएको छ। उक्त आदेशअनुसार उनलाई ३० दिनसम्म हिरासतमा राखिनेछ।

अलिमा आफ्ना भाइ इमरान खानको गिरफ्तारीको निरन्तर विरोध गर्दै आएकी थिइन्। उनी समर्थक तथा सञ्चारमाध्यमसँग नियमित सम्पर्कमा रहँदै आएकी थिइन्।

प्रहरी अधिकारीहरूले उनको गिरफ्तारी पुष्टि गरेका छन्। आदेशअनुसार उनलाई लाहोरस्थित कोट लखपत जेलमा राखिनेछ। गिरफ्तारीअघि परिवारले उनको अवस्थाबारे कुनै जानकारी नभएको बताएको थियो।

अलिमाका छोरा शहरेज खानले सामाजिक सञ्जाल एक्समार्फत सरकारले तत्काल उनको अवस्थाबारे जानकारी सार्वजनिक गर्नुपर्ने र सुरक्षित फिर्ती सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

अलिमाको गिरफ्तारीलाई सेप्टेम्बर २७ मा देशभर आयोजना गर्न लागिएको विरोध प्रदर्शनसँग जोडेर हेरिएको छ। उक्त प्रदर्शनमा सहभागीहरूले राजधानी इस्लामाबादतर्फ मार्च गर्ने योजना बनाएका छन्।

प्रशासनको आदेशमा अलिमाले सर्वसाधारणलाई भड्काएको, शान्ति सुरक्षामा खलल पुर्‍याएको तथा सरकारविरुद्ध आपत्तिजनक नाराबाजी गर्न मानिसहरूलाई उक्साएको आरोप लगाइएको छ।

सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै इस्लामाबादका सडकमा सरकारी भवनहरूको सुरक्षाका लागि कन्टेनरहरू राखिएका छन्। पाकिस्तानका गृहमन्त्रीले यस्ता प्रदर्शनले देशलाई हानि पुर्‍याउने बताउँदै त्यसलाई रोक्न सरकारले आवश्यक सबै कदम चाल्ने बताएका छन्।

इमरान खान सन् २०२३ देखि हिरासतमा छन्। प्रधानमन्त्री पदमा रहँदा प्राप्त सरकारी उपहार बिक्रीबाट आएको रकम खुलासा नगरेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि राज्यका गोप्य सूचना चुहाएकोदेखि सरकारी उपहार बिक्री गरेकोसम्मका १०० भन्दा बढी मुद्दा लगाइएको छ। खानले भने यी मुद्दालाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै आएका छन्।

गत वर्ष जग्गा भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई १४ वर्षको जेल सजाय सुनाइएको थियो। यो उनको अहिलेसम्मको सबैभन्दा लामो सजाय हो। जेलमा रहँदा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ। गत महिना उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पतालसमेत लगिएको थियो।