बाँके । नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ ।
दसैँको अवसरमा विगत १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण मञ्चन हुन सकेको थिएन । एक वर्षको अवरोधपछि यस वर्ष पुनः रामलिला आयोजना गर्न लागिएको हो ।
रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाका अनुसार नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनादेखि लगातार १० दिनसम्म रामलिला मञ्चन गरिनेछ ।
उनले रामलिलाको शुभारम्भ शोभायात्रासहित गरिने जानकारी दिए । यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउने उद्देश्यले तयारी अघि बढाइएको र त्यसका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको उनले बताए ।
‘रामलिला नेपालगञ्जको संस्कृति र पहिचानसँग जोडिएको परम्परा हो । परिस्थितिका कारण एक वर्ष नियमित मञ्चन प्रभावित भए पनि यसको निरन्तरता रोक्नुहुँदैन भन्ने उद्देश्यले तयारी अघि बढाइएको हो,’ अध्यक्ष कानोडियाले भने ।
रामलिला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकारहरूको टोली नेपालगञ्ज आउने भएको छ । उक्त टोलीले रामायणका प्रमुख प्रसङ्ग तथा भगवान् राम र सीताको जीवनसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्नेछ ।
समितिका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म प्रत्येक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलिला मञ्चन गरिनेछ । वृन्दावनबाट आउने कलाकारहरूले रामायणका विभिन्न पात्रको भूमिका निर्वाह गर्दै प्रमुख घटनाक्रमलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्नेछन् ।
लामो समयदेखि सञ्चालन हुँदै आएको रामलिला नेपालगञ्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण परम्परा हो । एक वर्षको अन्तरालपछि पुनः आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरतालाई अघि बढाउने अपेक्षा गरिएको छ ।






