न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

न्युयोर्क । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो। बिहानैदेखि सिमसिम पानी पर्न थालेपछि यहाँको मौसम केही चिसिएको छ। तर, संयुक्त राष्ट्रसङ्घको महासभामा मङ्गलबारदेखि सुरु हुने उच्चस्तरीय राजनीतिक सम्बोधनका कारण न्युयोर्कको राजनीतिक तथा कूटनीतिक माहोल भने तात्दै गएको छ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले यसअघि दिएको जानकारीअनुसार महासभामा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा सहभागी हुन विभिन्न देशका उच्चपदस्थ अधिकारी, कूटनीतिज्ञ, अभियन्ता तथा सञ्चारकर्मी न्युयोर्क पुग्ने क्रम जारी छ।

यससँगै न्युयोर्कका अधिकांश होटल भरिभराउ भएका छन्। होटल परिसर तथा आसपासका क्षेत्रमा महासभामा सहभागी हुन आएका विदेशी प्रतिनिधिहरूको चहलपहल बढेको छ। विभिन्न देशका साथै अमेरिकाका अन्य स्थानबाट आएका सञ्चारकर्मीहरू पनि समाचार सङ्कलनमा जुटिसकेका छन्।

समाचारमा उल्लेख भएअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार वासिङ्टन डीसीबाट न्युयोर्क आइपुग्ने कार्यतालिका छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत विभिन्न देशका नेताहरू पनि महासभामा सहभागी हुन न्युयोर्क आउने कार्यक्रम छ।

विश्वभरका शासक, प्रशासक, अभियन्ता र पत्रकार आगामी दस दिनसम्म अमेरिकाको वित्तीय राजधानी न्युयोर्कमा भेला हुनेछन्। विदेशी विशिष्ट पाहुना, विशेषगरी सरकार प्रमुखहरूको बसाइ संयुक्त राष्ट्रसङ्घको मुख्यालय आसपासका सुविधासम्पन्न तथा महँगा होटलहरूमा हुने गरेको छ।

मिलेनियम हिल्टन न्युयोर्क वान यूएन प्लाजा, द वेस्टिन न्युयोर्क ग्रान्ड सेन्ट्रल, वाल्डोर्फ अस्टोरिया न्युयोर्क र हायात ग्रान्ड सेन्ट्रललगायतका होटलमा नयाँ बुकिङ बन्द गरिएको छ। कतिपय होटलमा यसअघि नै बुकिङ भइसकेको छ भने विभिन्न देशका स्थायी नियोग तथा कूटनीतिक मिसनहरूले पनि अग्रिम बुकिङ गरिसकेका छन्।

महासभाको चहलपहलसँगै होटलका कर्मचारीहरूलाई पाहुनाको व्यवस्थापनमा भ्याइनभ्याइ भएको छ। उनीहरू पाहुनालाई आवश्यक सहयोग उपलब्ध गराउन तयारी अवस्थामा देखिन्छन्।

न्युयोर्कमा गर्मीयामलाई मुख्य पर्यटकीय सिजन मानिए पनि सेप्टेम्बरदेखि डिसेम्बरसम्म यहाँ पर्यटक तथा आगन्तुकको चहलपहल उल्लेख्य रहने गरेको छ। महासभाका कारण अहिले होटल, यातायात तथा व्यापारिक क्षेत्रमा थप गतिविधि बढेको छ।

सुरक्षा व्यवस्था कडा, सडक आवागमनमा प्रतिबन्ध

महासभाको उच्चस्तरीय सप्ताहलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसङ्घको मुख्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्यालय वरपरका कतिपय पैदलमार्ग बन्द गरिएका छन् भने न्युयोर्क प्रहरीले ठूलो सङ्ख्यामा क्याडेट परिचालन गरिसकेको छ।

मुख्यालय आसपास विभिन्न स्थानमा सुरक्षा अवरोधक राखिएका छन्। विशिष्ट पाहुनाको आवागमन, कारगेड तथा स्कर्टिङको व्यवस्थापनका लागि केही सडकमा एकतर्फी आवागमन लागू गरिएको छ भने कतिपय सडक बन्द गरिएका छन्।

संयुक्त राष्ट्रसङ्घले पनि आगन्तुकका लागि अक्टोबर १२ सम्म प्रवेश बन्द गरेको छ। मिडटाउन म्यानहटन तथा संयुक्त राष्ट्रसङ्घको मुख्यालय आसपासका सडकमा सार्वजनिक कार्यक्रम आयोजना गर्नसमेत रोक लगाइएको छ।

न्युयोर्क सिटीकी प्रहरी कमिशनर जेसिका टिश्चले सञ्चारकर्मीसँग कुरा गर्दै न्युयोर्क प्रहरी विभाग पूर्ण रूपमा तयार र सतर्क रहेको बताएकी छन्।

सडक आवागमनमा अवरोध भए पनि भूमिगत रेल प्रणालीका कारण सर्वसाधारणलाई दैनिक कामकाजका लागि आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।

होटलदेखि खुद्रा व्यापारसम्म चहलपहल

न्युयोर्कको एक स्थानीय होटलमा कार्यरत समिर पाँडेका अनुसार होटल व्यवसायका लागि सेप्टेम्बर सबैभन्दा व्यस्त समयमध्ये एक हो। महासभामा सहभागी हुने पाहुनालाई छुट्टै विशेष पाहुनाका रूपमा पहिचान गरेर जानकारी नदिइए पनि यस समयमा होटलहरूमा बुकिङ उच्च हुने गरेको उनले बताए।

उनका अनुसार यो समयमा होटलको मूल्यसमेत महँगो हुने भएकाले तीन महिनाअघि नै बुकिङ गर्दा तुलनात्मक रूपमा किफायती मूल्यमा कोठा पाउन सकिन्छ।

म्यानहटनमा खुद्रा पसल सञ्चालन गर्दै आएका ओमप्रकाश खण्डेवालले पनि महासभाको समयमा उपहारका सामग्रीको व्यापार बढ्ने गरेको बताए। विगत एक दशकको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष सेप्टेम्बरमा व्यापार बढी हुने गरेको उनको भनाइ छ।

न्युयोर्कमा उबर चलाउँदै आएका तिलक गुरुङका अनुसार महासभाका बेला विभिन्न स्थानमा सडक अवरोध हुने, छोटो दूरीको यात्रामा पनि लामो समय लाग्ने र अन्तिम समयमा मार्ग परिवर्तन गर्नुपर्ने अवस्थाले चालक तथा यात्रुलाई असहज हुने गरेको छ।

उनले यस्तो समयमा भूमिगत रेल अर्थात् सबवे प्रयोग गर्दा आवतजावत सहज र किफायती हुने बताए।

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जारी महासभा सेप्टेम्बर २९ सम्म सञ्चालन हुनेछ। यस वर्षको महासभाको नारा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ रहेको छ।

नेपालको तयारी पूरा

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महासभाको ८१औँ अधिवेशनलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नेछन्। उक्त सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको नियोगले जनाएको छ।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल महासभामा सहभागी हुन सोमबार न्युयोर्क पुगिसकेका छन्।

भोटेकोशी बाढीका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोरेको अवस्थामा यसपटकको महासभामा नेपालको सहभागिता र प्रस्तुतिलाई विशेष महत्त्वका साथ हेरिएको छ। विपद्, जलवायु परिवर्तन र त्यसबाट प्रभावित समुदायका मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर नेपालले प्राप्त गरेको छ।

महासभाको प्रमुख एजेन्डामध्ये जलवायु परिवर्तन पनि एक हो। नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर, हिमनदी पग्लिने क्रम र त्यसबाट उत्पन्न विपद्का जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न सक्नेछ।

एकातिर समुद्री सतह वृद्धि र त्यसले मानव जीवन, ऊर्जा तथा पूर्वाधारमा पार्न सक्ने असरबारे विश्वभर चिन्ता व्यक्त भइरहेको छ। अर्कातिर नेपालका हिमाल तथा हिमनदीमा देखिएका परिवर्तनले पनि जलवायु सङ्कटको गम्भीरता उजागर गरिरहेका छन्।

यसै सन्दर्भमा नेपालले ‘सगरमाथादेखि समुद्री सतहसम्म’ अर्थात् ‘सगरमाथा टु द सी लेभल’ नारासहित आयोजना गर्ने साइडलाइन कार्यक्रमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका असरबाट नेपालले ठूलो क्षति व्यहोर्नुपरेको विषय पनि अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर छ। जलवायु परिवर्तनका कारण हुने हानि तथा नोक्सानीको सम्बोधन र त्यसका लागि उपलब्ध गराइने वित्तीय सहयोग बढाउन विकसित देशहरूमाथि दबाब सिर्जना गर्ने सन्दर्भमा महासभा महत्त्वपूर्ण हुन सक्छ।

नेपालको विपद्लाई जलवायु सङ्कटसँग जोड्दै राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण देशहरू र मानिसहरूको जीवनमा पर्ने असर गम्भीर बन्दै गएको उल्लेख गर्दै नेपालको पछिल्लो विपद्लाई त्यसको प्रमाणका रूपमा प्रस्तुत गरेका छन्।

गत बुधबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ८१औँ महासभाको उच्चस्तरीय सप्ताह सुरु हुनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको विपद् र विश्वव्यापी तापक्रम वृद्धिबारे धारणा राखेका थिए।

उच्चस्तरीय बैठकहरूमा नेपालमा हालै आएको विपद् र विश्वव्यापी तापक्रम वृद्धिसम्बन्धी विषयमा ठोस नतिजा अपेक्षा गर्न सकिन्छ कि सकिँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा महासचिव गुटेरेसले तीन वर्षअघि आफू अन्नपूर्ण र सगरमाथाका हिमनदीमा गएको स्मरण गरेका थिए।

त्यतिबेला नै हिमनदीको अवस्था बिग्रँदै गएको र कुनै पनि बेला विनाशकारी घटना हुन सक्ने चेतावनी दिएको उल्लेख गर्दै उनले अहिले त्यस्तै अवस्था देखिएको बताएका थिए।

गुटेरेसले जलवायु परिवर्तनका कारण विभिन्न देशको अवस्था थप बिग्रन सक्ने भन्दै यसप्रति सचेत रहन पनि आग्रह गरेका छन्।

जलवायु न्यायका लागि नेपालको अवसर

यसपटकको महासभाबाट नेपालले जलवायु न्यायका विषयमा कति उपलब्धि हासिल गर्न सक्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुनेछ। तर, जलवायु परिवर्तनका कारण भोग्नुपरेका क्षति र जोखिमलाई विश्वका सरकार प्रमुख तथा अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने अवसर नेपालले पाएको छ।

नेपालले आफ्नो अनुभव, विपद्बाट भएको क्षति र हिमाली क्षेत्रमा देखिएका परिवर्तनलाई तथ्यसहित प्रस्तुत गर्न सके जलवायु सङ्कटबाट प्रभावित देशका मुद्दालाई अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्न सहयोग पुग्न सक्छ।

जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन, हानि तथा नोक्सानीको सम्बोधन र प्रभावित देशलाई आवश्यक वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा महासभामा हुने छलफल नेपालका लागि महत्त्वपूर्ण हुनेछ।

समयमै प्रभावकारी कदम चाल्न नसकिए जलवायु परिवर्तनका असर अझ गम्भीर बन्न सक्ने जोखिम छ। अहिले न्युयोर्कमा सिमसिम पानी परिरहेको मौसम सामान्य भए पनि विश्वव्यापी तापक्रम वृद्धि र हिमाली क्षेत्रमा भइरहेको परिवर्तनले भविष्यमा थप गम्भीर चुनौती निम्त्याउन सक्ने विषयलाई बेवास्ता गर्न मिल्दैन।

जलवायु परिवर्तनले विश्वको भौगोलिक स्वरूप, मानव जीवन, पूर्वाधार र प्राकृतिक प्रणालीमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै विश्वका सरकार प्रमुखहरूले आफ्ना प्रतिबद्धताअनुसार काम गर्नु आवश्यक छ।

आगामी पुस्तालाई सुरक्षित, सबल र सक्षम पृथ्वी हस्तान्तरण गर्ने लक्ष्यसहित यसपटकको महासभाले जलवायु परिवर्तनविरुद्ध ठोस कदम चाल्ने दिशामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।