रुसी संसदीय निर्वाचनमा पुटिनको दलको अग्रता

मस्को । साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता हासिल गरेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार करिब ७१ प्रतिशत मतगणना सम्पन्न हुँदा युनाइटेड रसिया पार्टीले ५७ दशमलव ५ प्रतिशत मत प्राप्त गरेको छ । प्रारम्भिक नतिजाअनुसार कम्युनिस्ट पार्टीले १४ प्रतिशत र राष्ट्रवादी एलडिपिआरले ८ दशमलव ७ प्रतिशत मत पाएका छन् ।

राज्य डुमाका ४५० सिटका लागि भएको यो निर्वाचन सन् २०२२ मा युक्रेनमाथि रुसले ठूलो सैन्य कारबाही सुरु गरेपछिको पहिलो संसदीय निर्वाचन हो । सरकारी समाचार संस्था तासका अनुसार प्रारम्भिक मतपरिणामले सत्तारूढ दल दुई तिहाइ बहुमत कायम राख्ने दिशामा रहेको देखाएको छ ।

निर्वाचनको अन्तिम दिन युक्रेनले मस्को र आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन् । मस्कोका मेयर सर्गेइ सोब्यानिनका अनुसार करिब एक हजार ६०० ड्रोन प्रहार गरिएकामा ४५० वटा राजधानी मस्कोतर्फ लक्षित थिए ।

ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको तथा आवासीय भवन र तेल प्रशोधन केन्द्रमा क्षति पुगेको बताइएको छ ।

यसैबीच, रुसी निर्वाचन पूर्वाधारमाथि एक हजारभन्दा बढी चरणमा डिडिओएस साइबर आक्रमण भएको केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले जानकारी दिएकी छन् । उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गर्ने समन्वित समूह आक्रमणमा संलग्न रहेको देखिएको छ ।

युद्धको विरोध गर्दै आएको याब्लोको पार्टीलाई निर्वाचनको केही साताअघि सर्वोच्च अदालतले सङ्घीय सूचीमा उम्मेदवारी दिन प्रतिबन्ध लगाएको थियो । यद्यपि, पार्टीका केही उम्मेदवारले एकल निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । रुसले कब्जा गरेको युक्रेनी भूभागमा समेत मतदान गरिएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ड्रोन आक्रमण प्रभावकारी भएको बताएका छन् । त्यसको जवाफमा रुसी रक्षा मन्त्रालयले किएभमा रहेका सैन्य लक्ष्यविरुद्ध आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ ।

निर्वाचनको अन्तिम परिणाम सोमबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।