सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीनवटा जीर्ण सडकको निर्माणका लागि एक साताभित्र नयाँ ठेक्का प्रक्रिया अघि बढाइने बताएका छन्। उनले लामो समयदेखि अधुरो रहेका सडक निर्माणका कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका हुन्।

गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण आवतजावतमा समस्या भएको भन्दै गुनासो गरेका थिए। त्यसपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने बताएका हुन्।

तीनवटै सडक ७३ करोड रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता भए पनि पाँच वर्षको अवधिमा ३० करोड रुपैयाँबराबरको मात्र काम सम्पन्न भएको थियो। निर्माण कार्यले गति लिन नसकेपछि यसअघिका ठेक्का रद्द गरिएको थियो। अब नयाँ ठेक्कामार्फत निर्माण कार्य अघि बढाउने तयारी भइरहेको मन्त्री यादवले बताए।

उनका अनुसार नयाँ सम्झौतामा निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरिनेछ। चाडपर्व नजिकिँदै गएकाले सर्वसाधारणको आवतजावत सहज बनाउन र धुलो नियन्त्रण गर्न तत्काल सडकमा प्राइम छर्किने व्यवस्था पनि मिलाइनेछ।

तीनवटै सडकको ठेक्का रद्द भएपछि निर्माण कार्य अलपत्र परेको थियो। लामो समयदेखि सडक निर्माणको प्रतीक्षामा रहेका स्थानीयवासी नयाँ ठेक्कामार्फत काम अघि बढ्ने भएपछि आशावादी बनेका छन्। कंकालिनीकी स्थानीय सुशीला यादवले सडक निर्माण प्रक्रिया अघि बढ्ने भएपछि स्थानीयमा आशा बढेको बताइन्।