दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

काठमाडौँ। राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन सार्वजनिक बिदा दिने र पाँच दिन मात्र कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार ल्याउन नसकेको भन्दै उक्त व्यवस्थाको पुनरवलोकन गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले दैनिक एक घण्टा कार्यालय समय थप गरिए पनि सेवा प्रवाहमा उल्लेखनीय सुधार हुन नसकेको बताए। कर्मचारीको जीवनयापनमा समेत समस्या देखिएको गुनासो आइरहेको उल्लेख गर्दै उनले विद्यमान व्यवस्थामाथि पुनरवलोकन गर्नुपर्ने धारणा राखे।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सांसद मदनकुमारी शाह (गरिमा)ले भोटेकोशी बाढीको विषयलाई जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिइन्।

त्यसैगरी, नेकपा (एमाले)की सांसद मीनासिंह रखालले खाना पकाउने ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन्।

नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीले विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नहुने बताइन्।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले बुटवल–पाल्पा सडकखण्डमा निरन्तर भइरहेका दुर्घटनाबाट मानवीय क्षति बढिरहेको उल्लेख गर्दै सडकको अवस्था सुधार गर्न माग गरिन्।

नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेलले विपत्तिका बेला सबै पक्ष एकताबद्ध भएर राहत तथा उद्धार कार्यमा जुट्नुपर्ने बताए।