पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ स्थित ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण बन्दा स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।

स्थानीय सरकारले विसं २०७३ मा च्याल्तचाम खोलामाथि निर्माण गरेको उक्त पुलबाट स्थानीयवासीले लामो समयदेखि आवतजावत गर्दै आएका थिए । पछिल्लो समय यही पुल हुँदै पर्यटकहरू जुगल हिमाल बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।

पुल भाँचिएर जीर्ण अवस्थामा पुगेपछि आवतजावत गर्न जोखिम बढेको स्थानीयवासीको गुनासो छ । पुल बिग्रिएको एक वर्ष बितिसक्दा पनि मर्मत तथा पुनर्निर्माणमा चासो नदेखाइएको उनीहरूको भनाइ छ ।

स्थानीय देव लामाले जीर्ण पुलबाट हिँड्न डर लाग्ने अवस्था रहेको बताए । ‘हामी यही पुल भएर आउजाउ गर्दै आएका थियौँ, अब पुलबाट हिँड्न डर मर्नु छ,’ उनले भने, ‘पुल बिग्रिएको एक वर्ष हुँदा पनि स्थानीय सरकारले वास्ता गरेको छैन ।’

जुगल गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई जुगल हिमालसम्म आकर्षित गर्ने उद्देश्यले ‘जुगल भ्रमण वर्ष २०८३’ घोषणा गरेको छ । तर, पर्यटक आवतजावत गर्ने पुल नै जीर्ण भएपछि भ्रमण वर्षको औचित्यमाथि प्रश्न उठ्न थालेको स्थानीय ल्हालुङ लामाले बताए ।

जुगल हिमाल घुम्न आउने पर्यटकको सिजन सुरु भइसकेको उल्लेख गर्दै उनले सुरक्षित बाटो र पुलको व्यवस्था नगरेसम्म पर्यटकलाई आकर्षित गर्न कठिन हुने बताए ।

‘हाल ठूलो कत्तिके र सानु कत्तिके जोड्ने पुल जीर्ण अवस्थामा छ,’ उनले भने, ‘यस्तो अवस्थामा पर्यटक आउन सक्ने देखिँदैन, जसले गर्दा जुगल भ्रमण वर्षमाथि नै प्रश्न उठेको छ । पर्यटकलाई आकर्षित गर्ने हो भने सुरक्षित बाटो र पुल पनि चाहिन्छ ।’

उनले जीर्ण पुललाई अलपत्र नराखी तत्काल मर्मत गर्न वा नयाँ पुल निर्माण गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले जीर्ण पुल हटाएर त्यस ठाउँमा बेलिब्रिज निर्माण गरिने जानकारी दिएका छन् ।

पुल जीर्ण भएको जानकारी पाएपछि पालिकाले विज्ञ प्राविधिकलाई अध्ययनका लागि पठाएको उनले बताए । प्राविधिक अध्ययनबाट पुल मर्मत गर्न सम्भव नरहेको निष्कर्ष आएको अध्यक्ष स्याङ्बोको भनाइ छ ।

‘पुल जीर्ण भएको हामीलाई जानकारी प्राप्त भएपछि पालिकाले विज्ञ प्राविधिकलाई अध्ययन गर्न पठाएका थियौँ,’ उनले भने, ‘प्राविधिकले पुल मर्मत हुने सम्भावना नरहेको जानकारी दिएका छन्, अब हामी त्यहाँ भएको जीर्ण पुल हटाएर बेलिब्रिज निर्माण गर्छौं ।’

बेलिब्रिज निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै अध्यक्ष स्याङ्बोले असोज महिनाभित्रै ठेक्का प्रक्रियामा जाने बताए ।