दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै खुलाइने

काठमाडौं । यातायात व्यवस्था विभागले प्रतिकूल मौसम र विपद्को अवस्थालाई ध्यानमा राखेर मात्रै दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ ।

चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसँग भएको छलफलमा हालको विपद् र आगामी केही दिनको मौसमको अवस्था हेरेर अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिने विभागले जनाएको हो ।

छलफलमा लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’लाई औपचारिकतामा सीमित नगरी कडाइका साथ परीक्षण गरेर मात्रै रुट परमिट दिनुपर्नेमा जोड दिइएको छ । विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वका समयमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था अनिवार्य रूपमा जाँच गरेर मात्रै सञ्चालन अनुमति दिने व्यवस्था गरिने बताए ।

त्यस्तै, सडक जाम नियन्त्रण, सवारीसाधन छुट्ने समयको पालना तथा राजमार्गमा रहेका होटल, खाजाघर र शौचालयको गुणस्तर र सरसफाइ अनुगमनका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवार बनाइने विभागले जनाएको छ ।

बाढी तथा पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग, हेटौँडा जोड्ने सडकसहितका प्रमुख राजमार्ग तत्काल सञ्चालनमा ल्याउन पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गर्ने निर्णयसमेत भएको छ ।

चाडपर्वको समयमा अन्तर्राष्ट्रिय बजारका कारण पेट्रोलियम पदार्थको मूल्य बढे पनि सार्वजनिक यातायातको भाडा नबढ्ने गरी इन्धनको मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भने भाडा समायोजनसँगै चाडपर्व अवधिभर इन्धनको मूल्य नबढाउन सरकारसँग आग्रह गरेका छन् । विभागले एक वर्षका लागि भाडा समायोजन गरेकोमा प्रशंसा गर्दै उनले केही प्राविधिक त्रुटि सुधार गर्न पनि सुझाव दिए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि राज्यले आवश्यक घाटा बेहोरेर भए पनि चाडपर्व अवधिभर इन्धनको मूल्य स्थिर राख्नुपर्ने उनको भनाइ छ ।

व्यवसायीहरू अनलाइन टिकटिङ तथा प्रविधिमैत्री सेवा लागू गर्न तयार रहे पनि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नबनाएका कारण समस्या भइरहेको सिटौलाले बताए ।