नेपाल भेटेरिनरी एशोसिएसनका अध्यक्ष डा. केदार सुवेदी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. केदार सुवेदी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदमा निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको वडा तहको संगठनात्मक प्रक्रियाअन्तर्गत गण्डकी प्रदेश, पर्वत जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गतको प्रदेशसभा ‘क’ क्षेत्रबाट डा. सुवेदी क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएको जनाइएको छ।

पशु चिकित्सकका रूपमा व्यावसायिक क्षेत्रमा सक्रिय डा. सुवेदी विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत हुन्। यसअघि नेपाली कांग्रेस पर्वतले उनलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्वतबाट उम्मेदवारका रूपमा सिफारिस गरेको थियो।

पर्वत कांग्रेसको अघिल्लो अधिवेशनका क्रममा पनि डा. सुवेदी खस–आर्य पुरुषतर्फबाट निर्वाचित भएको सार्वजनिक विवरणमा उल्लेख छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सार्वजनिक गरिएको संशोधित कार्यतालिकाअनुसार असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना हुने कार्यतालिका छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार वडा तहको अधिवेशन असोज ३ र ४ गते तथा त्यसपछि पालिका र क्षेत्रीय तहका अधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशन प्रक्रिया अघि बढाइएको हो।

पशु चिकित्सा पेशासँगै राजनीतिक तथा सामाजिक गतिविधिमा समेत सक्रिय डा. सुवेदी हाल नेपाल भेटेरिनरी एशोसिएसनको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा छन्।