महिला भलिबलः नेपाल हङकङसँग पराजित

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ ।

जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

खेलको पहिलो सेटमा हङकङले नेपाललाई २५–२० ले हराएको थियो । दोस्रो सेटमा पनि हङकङले २५–१९ को जित निकाल्दै अग्रता दोब्बर बनायो ।

त्यस्तै, तेस्रो तथा अन्तिम सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि हङकङले २८–२६ ले सेट आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

यस हारसँगै नेपालले अब प्रतियोगितामा ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र मङ्गोलियाबीचको उक्त खेल भोलि हुनेछ ।