काठमाडौं: लमजुङको क्व्होलासोथार गाउँपालिका: ९ गिलुङमा निर्माण गर्न लागिएको १५ शय्याको आधारभूत अस्पतालको काम पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत मात्र पूरा भएको छ। सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत उक्त अस्पतालको विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७८ साउन १९ गते सम्झौता भएको थियो। तर, निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विसं २०८१ असारदेखि काम पूर्ण रूपमा रोकिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेका अनुसार निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रगति हुन सकेको छैन। हालसम्म करिब एक करोड ८३ लाख रुपैयाँ बराबरको मात्र काम भएको छ।
गाउँपालिकाका सव इन्जिनियर प्रकाश शेरचनका अनुसार हालसम्म भवनको भुइँतला ढलानको काम मात्र सकिएको छ। सम्झौताको पहिलो दुई वर्षमा पाँच-छ प्रतिशत मात्र काम भएको थियो। पटकपटक म्याद थपिए पनि कामले गति लिन नसकेपछि निर्माण व्यवसायीमाथि कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको छ।
गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पछिल्लो पटक थपिएको तीन महिनाको म्यादभित्र काम अघि नबढे ठेक्का तोड्ने वा कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। उनले भने, ‘अब थपिएको समयमा पनि निर्माण प्रक्रिया अगाडि बढेन भने ठेक्का तोड्ने वा कानुनी कारबाही के गर्ने भन्नेबारेमा गाउँपालिकाले आवश्यक कदम चाल्छ।’
अस्पताल निर्माणका लागि २० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा १३ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अस्पताल निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।






