डेटा सेन्टरको समस्याबारे नेप्सेलाई अध्ययन प्रतिवेदन बुझाउन बोर्डको निर्देशन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नियमित धितोपत्र कारोबार स्थगित हुने गरी डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याबारे नेपाल धितोपत्र बोर्डले अध्ययन तथा जाँचबुझ गरी सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।

बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डेटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या तत्काल समाधान हुन नसकेपछि कारोबार प्रणालीमा थप क्षति पुग्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो।

कारोबार नै स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बोर्डले घटनाको प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गर्न नेप्सेलाई निर्देशन दिएको हो। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेप्सेले असोज १२ गतेभित्र अध्ययन तथा जाँचबुझसहित आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन अपनाउनुपर्ने सुधारका उपाय समेटिएको प्रतिवेदन पेस गर्नुपर्नेछ।

घटनाको थप अध्ययनका लागि बोर्डले उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ। टोलीले डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या, त्यसबाट परेको प्रभाव, कारोबार प्रणालीमा पर्न सक्ने जोखिम तथा कारोबार स्थगन गर्नुपर्ने अवस्थाका कारणबारे अध्ययन गर्नेछ।

यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि डेटा सेन्टरको समस्या समाधान नभएको अवस्थामा नियमित कारोबार सत्र सञ्चालन गर्दा जोखिम हुन सक्ने भन्दै कारोबार स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।

सोही परिस्थितिलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको कारोबार स्थगित गरेको जनाएको छ।

बोर्डले निरीक्षण टोलीको सुझाव तथा नेप्सेबाट प्राप्त हुने प्रतिवेदनका आधारमा धितोपत्र बजारको कारोबार प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र पारदर्शी बनाउन आवश्यक सुधारका कार्य अघि बढाउने जनाएको छ।

प्रवक्ता घिमिरेले धितोपत्र बजारको कारोबार प्रणालीको विश्वसनीयता र सुरक्षालाई प्राथमिकतामा राख्दै प्राविधिक जोखिमको पहिचान तथा न्यूनीकरणका लागि आवश्यक कदम चालिने जानकारी दिए।