काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुने परम्परागत भीआईपी बिदाइलाई यसपटक निरन्तरता नदिने भएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ न्युयोर्क प्रस्थान गर्न लागेका शाहको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै औपचारिक कार्यक्रम आयोजना नहुने भएको हो।
देश भोटेकोशीमा आएको विनाशकारी बाढीको शोकमा रहेका बेला विमानस्थलमा कुनै तामझाम नगर्ने प्रधानमन्त्री शाहको अडानपछि सेनाको गार्ड अफ अनर, रेड कार्पेट तथा भीआईपी लाउन्जमा हुने औपचारिक बिदाइ कार्यक्रम रद्द गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीलाई बिदाइ गर्न मन्त्रीहरू, उच्चपदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विदेशी कूटनीतिज्ञलाई समेत विमानस्थलमा बोलाइएको छैन। प्रधानमन्त्रीको सवारी भीआईपी लाउन्जबाट सिधै विमान पार्किङस्थलसम्म पुग्ने र त्यहीँबाट उनी जहाजमा चढ्ने व्यवस्था मिलाइएको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ। उपलब्ध विवरणअनुसार हालसम्म १ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७ सय ४५ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद्को अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले आफ्नो महासभा भ्रमण रद्द गर्ने विषयमा समेत छलफल गरेका थिए।
तर, संयुक्त राष्ट्रसंघको महासभामा नेपालको विपद्को अवस्था तथा जलवायु परिवर्तनका मुद्दा उठाउनुपर्ने भएकाले उनी अन्तिम समयमा न्युयोर्क जाने निर्णयमा पुगेका हुन्।
न्युयोर्क बसाइका क्रममा विभिन्न देशका सरकार प्रमुखबाट द्विपक्षीय भेटवार्ताका लागि अनुरोध आए पनि प्रधानमन्त्री शाहले यसपटक कुनै द्विपक्षीय भेट नगर्ने निर्णय लिएका छन्। उनले बिहीबार राष्ट्रसंघको ८१औँ महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। सोही दिन राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मात्र शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
परम्परागत कूटनीतिक शैलीभन्दा फरक ढंगले अघि बढिरहेका प्रधानमन्त्री शाहको यो निर्णयले सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ।
प्रधानमन्त्री शाह कतार एयरवेजमार्फत दोहा हुँदै न्युयोर्क जानेछन्। उनीसँग मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेललगायत सीमित सदस्य मात्रै सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री शिशिर खनाल भने यसअघि नै न्युयोर्क पुगिसकेका छन्। उनले त्यहाँ विभिन्न देशका समकक्षीसँग द्विपक्षीय छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाह आगामी शनिबार नेपाल फर्कने कार्यतालिका रहेको छ।






