काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी १५ अर्ब रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ रुपैयाँ मौज्दात रहेको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ।
कार्यालयका अनुसार सबै खातामा गरी कुल १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ बराबरको रकम मौज्दात रहेको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।






