सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि तुम्लिङटारको सभाखोलासम्मको सडकखण्ड दैनिक नौ घण्टा बन्द गरिएको छ।
खाँदबारी–सभाखोला सडकखण्डको करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्ने कार्यका लागि यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।
सडक डिभिजन कार्यालयका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार असोज ६ गतेदेखि असोज ३० गतेसम्म सडक बन्द गरेर मर्मत तथा स्तरोन्नतिको काम गरिनेछ।
उक्त सडकखण्डमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको मण्डलले बताए।
निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने उद्देश्यले निर्माण कम्पनीको आग्रहमा सडक बन्द गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ।
निषेधित समयमा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ।






