नेकपा संयोजन समिति बैठकले के–के गर्‍याे निर्णय ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठकले संगठन विस्तार, जनपरिचालन, कम्युनिस्ट पार्टीहरूबीच एकता, विपद् व्यवस्थापन तथा सरकारका कामकारबाहीविरुद्ध आन्दोलनको तयारीलगायत महत्वपूर्ण निर्णय गरेको छ।

मंगलबार बसेको बैठकले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने ‘राष्ट्रिय जनअभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो। अभियानमार्फत पार्टी संगठन निर्माण, सदस्यता वितरण तथा नवीकरण र जनपरिचालनलाई प्राथमिकता दिइने पार्टीले जनाएको छ।

अभियान केन्द्रदेखि गाउँ, टोल हुँदै जनताको घरदैलोसम्म सञ्चालन गरिनेछ। अभियानको विस्तृत कार्ययोजना भने दसैँअघि बस्ने केन्द्रीय सचिवालय बैठकले पारित गर्नेछ।

कम्युनिस्ट पार्टीहरूसँग एकताका लागि वार्ता समिति गठन

बैठकले समान विचार, सिद्धान्त र कार्यक्रम भएका अन्य कम्युनिस्ट पार्टीहरूसँग एकता तथा सहकार्यको प्रक्रिया अघि बढाउन तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

समितिको संयोजकमा अग्नि सापकोटा तथा सदस्यमा पम्फा भुसाल र गंगा नारायण श्रेष्ठ रहेका छन्। समितिले विभिन्न कम्युनिस्ट पार्टीसँग छलफल र संवाद गरी एकता तथा सहकार्यका लागि सहमति जुटाउने जिम्मेवारी पाएको छ।

बाढीपहिरो प्रभावितको उद्धार र राहतमा पार्टी परिचालन हुने

बैठकले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका सम्पूर्ण कमिटीसँगै युवा तथा विद्यार्थी संगठनलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

यसअघि गठन गरिएको समन्वय समितिलाई थप सक्रिय बनाउँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने र विपद् व्यवस्थापनमा सरकारलाई थप जिम्मेवार बनाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

महाधिवेशनको नयाँ कार्यतालिका बनाइने

प्राकृतिक विपद्का कारण पार्टीको महाधिवेशन तथा वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन प्रभावित भएपछि नयाँ कार्यतालिका बनाइने भएको छ।

असहज परिस्थितिका कारण पुरानो कार्यतालिकाअनुसार अघि बढ्न कठिनाइ भएको भन्दै आगामी केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको नयाँ कार्यतालिका र कार्ययोजना तय गर्ने निर्णय गरेको छ।

सरकारविरुद्ध आन्दोलनको तयारी

बैठकले वर्तमान सरकारका कामकारबाही, महँगी, भ्रष्टाचार तथा सुशासनको अभावका कारण जनतामा निराशा बढेको निष्कर्ष निकालेको छ।

त्यस्तै, सुकुम्बासी, मिटरब्याज पीडितलगायत सीमान्तकृत वर्गका समस्या समाधान हुन नसकेको भन्दै राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि व्यवस्थित आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।

आन्दोलनको स्वरूप, कार्यक्रम र कार्ययोजनाबारे आगामी केन्द्रीय सचिवालय बैठकले थप निर्णय गर्ने बताइएको छ।

बैठकका निर्णयअनुसार नेकपाले आगामी दिनमा संगठन विस्तार, कम्युनिस्ट पार्टीहरूबीच एकता तथा सहकार्य, विपद् प्रभावितको राहत र पुनर्स्थापनामा जनपरिचालन तथा सरकारका कामकारबाहीविरुद्ध राजनीतिक आन्दोलनलाई प्राथमिकतामा राख्ने भएको छ।