पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिर १५ गतेभित्र सवारीसाधन सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी अघि बढाइएको छ। सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय, बुटवलले मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पुर्याउने लक्ष्यसहित कामलाई तीव्रता दिएको हो।
सुरुङभित्र सडक निर्माण तथा अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेकाले मङ्सिरभित्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको आयोजना प्रमुख नवराज बास्तोलाले जानकारी दिए।
उनका अनुसार वर्षा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री आपूर्तिमा ढिलाइ हुँदा पूर्वनिर्धारित समयभन्दा करिब एक महिना निर्माण कार्य पछाडि धकेलिएको हो। निर्माण सामग्री एक–दुई दिनभित्र आइपुग्ने अपेक्षा गरिएको उल्लेख गर्दै उनले मङ्सिर १५ गतेभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए।
भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएका विद्युतीय सामग्री बगाएपछि सवारीसाधन सञ्चालनको पूर्वनिर्धारित योजना प्रभावित भएको बास्तोलाले बताए। हाल सुरुङभित्र सडक कालोपत्र गर्ने काम सकिएर रङरोगन भइरहेको छ भने प्राविधिक भवनको फिनिसिङ कार्य पनि जारी छ। सुरुङको लाइनिङ अर्थात् भुइँ तथा भित्तामा ढलान गर्ने कामसहित सिभिल संरचनाको निर्माण यसअघि नै सम्पन्न भइसकेको छ। अब इलेक्ट्रोमेकानिकलसम्बन्धी काम बाँकी रहेको उनले जानकारी दिए।
योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको हालसम्मको भौतिक प्रगति ६९.७० प्रतिशत र वित्तीय प्रगति ६३.५५ प्रतिशत पुगेको छ।
उनका अनुसार मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ गर्ने, १४ वटा कल्भर्ट निर्माण गर्ने र सुरुङभित्र प्रिमेन्टको काम सम्पन्न भइसकेको छ। सुरुङमा तीनवटा बाइपास निर्माण गरिएको छ।
सुरुङभित्रको काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइने इन्जिनियर आनन्दले बताए। सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल बेरियर तथा स्लोप प्रोटेक्सनका संरचना निर्माण गरिने उनको भनाइ छ।
एक हजार १२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु गरिएको हो। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा निर्माणको ठेक्का लिएको हो।
सिद्धार्थ राजमार्गअन्तर्गत तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ। यस क्षेत्रमा वर्षायाममा पहिरो खस्नुका साथै सुक्खायाममा समेत सुक्खा पहिरो र ढुङ्गा खस्ने समस्या रहेकाले सडकलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।
सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो तथा ढुङ्गा खस्ने जोखिमबाट यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएपछि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।






