काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
आचार्यका अनुसार हिजोको बैठकमा ११८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए भने १६ जना केन्द्रीय सदस्य अनुपस्थित रहेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको उनले बताए ।
केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी गरिएको छ । सचिवालय बैठक सम्पन्न भएपछि केन्द्रीय कमिटी बैठक पनि टुंगिने आचार्यले जानकारी दिए ।
ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ७ गते सम्पन्न गर्ने भनिएको थियो ।
‘सबै केन्द्रीय सदस्यहरूले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक आज पनि हुन सक्छ, भोलिलाई पनि सर्न सक्छ,’ आचार्यले भने, ‘यदि भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिनेछ ।’






