वीरगन्ज– प्रहरीले १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लागेको नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–१५ स्थित सडकमा बिआर ०५ बिएल १६८० नम्बरको मोटरसाइकलमा सवार दुई जना शङ्कास्पद अवस्थामा बसपार्कतर्फ जाँदै गरेको देखिएपछि जाँच गरिएको थियो। सो क्रममा उनीहरूको साथबाट १५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ का सन्तोषप्रसाद पटेल रहेका छन्।
प्रहरीले पटेलको घरमा समेत खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।





