जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा देखिएका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेको र नेपालसहितका हिमाली मुलुक त्यसबाट बढी प्रभावित भइरहेको बताएका हुन् ।

उनले तापक्रम वृद्धिसँगै हिमनदी पग्लने क्रम तीव्र हुँदै गएको उल्लेख गर्दै यसको असरले भविष्यमा विश्वले अझ गम्भीर समस्या सामना गर्नुपर्ने चेतावनी दिए ।

तीन वर्षअघि नेपाल भ्रमणका क्रममा आफूले हिमनदी तीव्र गतिमा पग्लिरहेको विषयमा विश्व समुदायलाई सचेत गराएको स्मरण गर्दै गुटेरेसले नेपालको भोटेकोशी बाढीजस्ता विपद्ले जलवायु परिवर्तनका असरलाई वास्तविकतामा परिणत गरेको बताए ।

‘तीन वर्षअघि नेपालको हिमालबाट मैले विश्वको छाना भत्किँदै गएको चेतावनी दिएको थिएँ’, उनले भने, ‘त्यतिबेलाको चेतावनीलाई अतिरञ्जित ठान्नेहरू भए पनि पछिल्ला घटनाले जलवायु परिवर्तनका असर अनुमान गरिएभन्दा छिटो, गम्भीर र व्यापक रूपमा देखिन थालेको पुष्टि गरेको छ ।’

महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम भविष्यको विषय मात्र नभई वर्तमानको वास्तविकता बनिसकेको उल्लेख गरे । विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान गर्ने मुलुकहरूले नै जलवायु परिवर्तनको ठूलो मूल्य चुकाइरहेको उनको भनाइ थियो ।

उनले जलवायु न्यायको आवश्यकता औँल्याउँदै प्रदूषण गर्ने पक्षले त्यसको मूल्य तिर्नुपर्ने र जलवायुजन्य विपद्बाट प्रभावित जोखिममा रहेका मुलुकले न्याय तथा आवश्यक वित्तीय सहयोग पाउनुपर्ने धारणा राखे ।

जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम नभएको उल्लेख गर्दै गुटेरेसले विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।

‘जलवायु परिवर्तनका कारण हुने हानि तथा क्षति सम्बोधन गर्न स्थापना गरिएको कोषमा पर्याप्त रकम छैन । विकसित मुलुकहरूलाई जलवायु वित्तसम्बन्धी आफूले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दछु’, उनले भने, ‘जलवायु अनुकूलन वित्तलाई तीन गुणा वृद्धि गर्न र हानि तथा क्षति कोषमा थप स्रोत परिचालन गर्न आह्वान गर्दछु ।’