फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही

सिंगापुर (रासस/एएफपी) – सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।

कम्पनीका अनुसार सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच पछिल्लो दुई वर्षदेखि सूचना आदानप्रदानसम्बन्धी सहकार्य हुँदै आएको छ । उक्त सहकार्यले ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका नेटवर्क पहिचान गरी निष्क्रिय बनाउन सहयोग पुगेको मेटाले जनाएको छ ।

मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो ।

जुन महिनामा मात्रै विद्यालय बिदाको समयमा परिवारहरूले सस्तो यात्रा प्याकेज खोज्ने अवसर छोपेर ठगी गर्ने प्रयासमा रहेका समूहसँग सम्बन्धित ३३ हजार ६०० भन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, जुलाईमा मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको थियो । तीमध्ये अधिकांश ‘शेल पेज’ अर्थात् सामग्री नराखिएका वा सक्रिय रूपमा प्रयोगमा नरहेका पेज थिए । भविष्यमा यस्ता पेज ठगीका गतिविधिमा प्रयोग गर्न अपराधीहरूले खरिद गर्न वा कब्जा गर्न सक्ने भएकाले कारबाही गरिएको मेटाले स्पष्ट पारेको छ ।

यद्यपि, कम्पनीले अघिल्लो वर्षको तुलनात्मक तथ्यांक भने सार्वजनिक गरेको छैन ।

ठगी गर्ने समूहहरूले विभिन्न देश तथा डिजिटल प्लेटफर्ममा एकैसाथ गतिविधि सञ्चालन गर्ने भएकाले यस समस्याको पूर्ण जानकारी कुनै एउटै संस्थासँग मात्र नहुने मेटाले जनाएको छ ।

मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयनसम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यले कम्पनीले आफ्नै स्रोतबाट पहिचान गर्न नसक्ने जोखिम तथा गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको बताए ।

उनका अनुसार प्रहरीबाट प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कमाथि ठूलो स्तरमा कारबाही गर्न सम्भव भएको छ । यसले ती समूह धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न मद्दत गरेको उनले बताए ।

मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगी गर्ने समूहहरू अहिले औद्योगिक स्तरमा सञ्चालन भइरहेको बताइन् । उनका अनुसार यस्ता समूहले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल निर्माण गर्ने, नक्कली तस्बिर तथा अन्य सामग्री तयार पार्ने र हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छन् ।

मेटाले आफ्ना प्लेटफर्ममा सुरक्षा प्रणाली थप सुदृढ बनाउँदै प्रयोगकर्ताले देख्नुअघि नै ठगीसम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ ।