चितवन– चितवन राष्ट्रिय निकुञ्जमा एक हजार ४२ दिनदेखि गैँडाको चोरी सिकार भएको छैन । पछिल्लोपटक विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा तस्करले खाल्डोमा पारेर मारेका थिए । त्यसयता चोरी सिकारबाट गैँडा मर्ने घटना नभएको निकुञ्जले जनाएको छ ।
पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट करिब तीन किलोमिटर दक्षिणपूर्वमा पर्ने निकुञ्जको चपरचुली क्षेत्रमा तस्करहरूले दुईवटा गैँडालाई छुट्टाछुट्टै खाडलमा पारेर मारेका थिए ।
त्यसयता प्राकृतिक कारणले गैँडाको मृत्यु हुने गरे पनि चोरी सिकारका कारण कुनै गैँडा मारिएका छैनन् । निकुञ्जमा सुरक्षा व्यवस्था कडा पारिएका कारण गैँडालाई चोरी सिकारबाट जोगाउन सफलता मिलेको निकुञ्ज प्रशासनको भनाइ छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पछिल्लो एक हजार ४२ दिनदेखि तस्करहरूले गैँडा मार्न पाएका छैनन् । निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीयवासीबीचको सहकार्य तथा सुरक्षा निगरानीका कारण चोरी सिकार नियन्त्रण गर्न सम्भव भएको उनले बताए ।
निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा पाँचवटा, २०७८/७९ मा दुईवटा र २०७९/८० मा दुईवटा गैँडा तस्करले मारेका थिए । यसअघि आर्थिक वर्ष २०५८/५९ मा सबैभन्दा बढी ३८ वटा गैँडा चोरी सिकारका कारण मारिएका थिए । सशस्त्र द्वन्द्वका बेला सुरक्षा पोष्ट कटौती भएपछि त्यसको फाइदा उठाउँदै तस्करहरूले गैँडा मारेका थिए । त्यसपछि सुरक्षा संयन्त्र सक्रिय हुँदा एक हजार ७१ दिनसम्म चोरी सिकार शून्य रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा प्राकृतिक कारणले पनि ठूलो सङ्ख्यामा गैँडाको मृत्यु हुने गरेको छ । निकुञ्जको विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा ४३, २०७६/७७ मा २६, २०७७/७८ मा ३५, २०७९/८० मा २०, २०८०/८१ मा २१, २०८१/८२ मा २८ र २०८२/८३ मा २२ वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको थियो ।
निकुञ्जको सुरक्षाको जिम्मेवारी नेपाली सेनाको नयाँ गोरख गण दलले सम्हाल्दै आएको छ । हाल निकुञ्जमा ५३ वटा सुरक्षा पोष्ट रहेका छन् । ती पोष्टमा नेपाली सेना र निकुञ्जका सुरक्षाकर्मी परिचालन गरी नियमित निगरानी तथा सुरक्षा व्यवस्था मिलाइएको सूचना अधिकारी थापामगरले बताए ।
निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा तस्करहरूले गोली हानेर, खाल्डोमा पारेर, विष खुवाएर तथा करेन्ट लगाएर गैँडा मार्ने गरेका छन् । त्यस्तै, बुढ्यौली, अन्य जनावरको आक्रमण, आपसमा जुध्ने, बाढीले बगाउने, दलदलमा फस्ने तथा बाघको आक्रमणजस्ता प्राकृतिक कारणले पनि गैँडाको मृत्यु हुने गरेको छ ।
पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । तीमध्ये ६९५ वटा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छन् । सन् २०२१ यता गैँडाको गणना गरिएको छैन । चितवनबाहेक पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छन् ।






