काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।
मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री शाहले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन् । त्यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने उनले उल्लेख गरेका छन् ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम बढ्नुका साथै सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री शाहले विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।
उनले पानी परिरहेको बेला तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानजिकका जोखिमयुक्त क्षेत्रमा सतर्क रहन र मौसममा सुधार नआएसम्म ट्रेकिङ तथा हिमाली क्षेत्रको यात्रा स्थगित गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न नागरिकलाई आग्रह गर्दै सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी, समन्वय र सतर्कता अपनाउनसमेत अनुरोध गरेका छन् ।






