काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले मौसम प्रतिकूल हुने पूर्वानुमानलाई ध्यानमा राख्दै असोज ८ र ९ गते आवश्यकताअनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले बुधबार शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाउँदै स्थानीय तहसँग समन्वय गरी विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षाका लागि आवश्यकताअनुसार विद्यालय बिदा गर्न आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञको पूर्वानुमानअनुसार असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।
यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, हिमपहिरो, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोधको जोखिम रहेको उल्लेख छ ।
मन्त्रालयले असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई आग्रह गरेको छ ।
साथै, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्था आएमा स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरेको छ ।





