प्रधानमन्त्री बालेनले नोभेम्बर तेस्रो साता भारत भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको ठ्याक्कै मिति तय नभए पनि दुवै देशलाई अनुकूल हुने समय मिलाएर तयारी अघि बढाइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई भारत भ्रमणको निम्ता दिएका थिए । प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किएपछि भ्रमणको तयारी तीव्र बनाइने स्रोतले जनाएको छ ।

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटवार्तामा पनि भ्रमण तथा दुई देशबीचको सहकार्यबारे छलफल भएको थियो ।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा सीमा विवाद र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय अनुमतिजस्ता विषयमा उल्लेखनीय उपलब्धि हासिल गर्ने चाहना राखेको स्रोतको भनाइ छ ।

नेपाल र भारतबीच रहेका ४० भन्दा बढी द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउँदै सहकार्य अघि बढाउने विषयमा पनि दुई देशबीच सहमति भएको जनाइएको छ ।