काठमाडौँ । २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ । बिहीबार जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको समूह ‘ए’ को खेलमा अफगानिस्तानले आयोजक जापानलाई ४८ रनले पराजित गरेको हो ।
टस जितेर पहिले फिल्डिङ रोजेको जापानविरुद्ध ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो । अफगानिस्तानका वसिन अकरमले २९ बलमा ३४ रन बनाए भने कप्तान दरविस रसुलीले २७ बलमा २९ रनको योगदान दिए । त्यस्तै, मोहम्मद इसहाकले २५ र करीम जनतले २१ रन जोडे ।
जापानका बलर शोमा स्लेटर र इब्राहिम ताकाहाशीले समान दुई–दुई विकेट लिए ।
१३० रनको लक्ष्य पछ्याएको घरेलु टोली जापान अफगानिस्तानको कसिलो बलिङसामु टिक्न सकेन । जापान १९.३ ओभरमा ८१ रनमा अलआउट भएपछि अफगानिस्तानले ४८ रनको जित दर्ता गर्यो ।
जापानका रेओ साकुरालो–थोमसले सर्वाधिक २३ रन बनाए भने बेन्जामिन इटो–डेभिसले १७ रन जोडे । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानको जितमा स्पिनर अरब गुलले उत्कृष्ट प्रदर्शन गरे । उनले चार ओभरमा आठ रन खर्चेर चार विकेट लिए । नगेयालिया खरोटेले १९ रन दिएर तीन विकेट लिए भने अब्दुल्लाह अहमदजाईले दुई विकेट हात पारे ।
समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै नेपाल पनि रहेको छ । नेपालले शुक्रबार अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र अफगानिस्तानबीचको खेल शुक्रबार बिहान १०ः४५ बजे सुरु हुनेछ ।






