ट्रम्पले सी जिनपिङलाई दिए विशेष स्वागत, विमानस्थलमा आफैं पुगे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीनदिने अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई विशेष स्वागत गरेका छन् ।

प्रोटोकलभन्दा फरक शैलीमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प सी दम्पतीको स्वागतका लागि ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमा पुगेका थिए । उनीहरूको स्वागतका लागि रेड कार्पेटसमेत बिछ्याइएको थियो ।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले उक्त एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् । यसलाई ट्रम्पले सीको भ्रमणलाई दिएको उच्च प्राथमिकताको सङ्केतका रूपमा हेरिएको छ ।

विमानबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाएर अभिवादन गरेका थिए । स्वागत समारोहमा दुवै नेताका पत्नी पनि उपस्थित थिए । सीको स्वागतका क्रममा अमेरिकी वायुसेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा उडान भरेका थिए ।

त्यस अवसरमा अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रगान बजाएको थियो भने दुवै देशका राष्ट्रिय झण्डा फहराइएको थियो । स्वागत समारोह सम्पन्न भएपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिका र चीनबीच जारी व्यापार युद्धविरामको अवधि बढाउने सहमति भएको बताएका छन् । उनका अनुसार नोभेम्बरमा समाप्त हुने समयसीमालाई विस्तार गरी आगामी जनवरी १० सम्म कायम राख्न दुवै पक्ष सहमत भएका छन् ।