काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव गरेका छन्।
ललितपुरको भनिमण्डलस्थित एक ब्याङ्क्वेटमा चार दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव राखेका हुन्।
भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। राष्ट्रपति पदमा रहँदा उनी पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भएकी थिइन्।
राष्ट्रपति पदबाट अवकाश पाएपछि भण्डारीको एमालेको सक्रिय राजनीतिमा पुनरागमनबारे चर्चा हुँदै आएको थियो। यसैक्रममा ओलीले उनलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका हुन्।
यसअघि ओलीले २०८२ साउन ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकमार्फत भण्डारीको पार्टी सदस्यता रोकेका थिए। त्यससँगै उनको पार्टी राजनीतिमा पुनरागमनको बाटो अवरुद्ध भएको थियो।
एमालेको जारी केन्द्रीय कमिटी बैठक आजै समापन हुँदैछ। बैठकले ओलीको प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ। प्रस्ताव अनुमोदन भएमा भण्डारी औपचारिक रूपमा एमालेको नेतृत्व संरचनामा पुनः जोडिने बाटो खुल्नेछ।






