धनगढी । धनगढी उपमहानगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै उपमहानगरपालिकाका १९ वटै वडामा अभियान सञ्चालन गरिएको हो ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख योगेशकुमार अवस्थीका अनुसार अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका एक लाख तीन हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ । अभियान असोज २२ गतेसम्म सञ्चालन हुनेछ ।
स्वास्थ्य शाखा प्रमुख अवस्थीले जापानिज इन्सेफ्लाइटिसको जोखिमलाई मध्यनजर गर्दै रोगको रोकथाम तथा नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार अभियान सञ्चालनका लागि उपमहानगरपालिकाभित्र १२४ वटा खोप केन्द्र स्थापना गरिएका छन् ।
जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य गम्भीर सङ्क्रामक रोग हो । सङ्क्रमित लामखुट्टेको टोकाइपछि मानिसमा ज्वरो आउने, टाउको दुख्ने, शरीर काँप्ने, बेहोस हुने तथा स्नायु प्रणालीमा समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् ।
यो रोगबाट सङ्क्रमित भई निको भएका व्यक्तिमा समेत पछि विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने अवस्थीले बताए । उनका अनुसार रोगले स्वास्थ्यमा गम्भीर जटिलता निम्त्याउन सक्ने भएकाले यसको रोकथामका लागि खोप महत्त्वपूर्ण रहेको छ ।
धनगढी उपमहानगरपालिकाभित्र हालसम्म जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित चार जना फेला परिसकेका छन् । सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै उपमहानगरपालिकाले लक्षित उमेर समूहका सबै नागरिकलाई खोप अभियानमा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।






