काठमाडौँ । इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी खुला गर्ने र आफ्नो आणविक कार्यक्रमबारे अमेरिकासँग पुनः वार्ता सुरु गर्ने प्रस्ताव अघि सारेको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष सातदिने योजना पठाइएको जानकारी दिएका हुन्।
अराघचीका अनुसार प्रस्तावमा उल्लेख गरिएका केही सर्त पूरा भएमा सातौँ दिनको अन्त्यसम्म हर्मुज जलघाँटी खुला गर्न सकिनेछ। त्यसपछि इरानको आणविक कार्यक्रमका विषयमा विस्तृत कूटनीतिक वार्ता पुनः सुरु गर्ने योजना रहेको उनले बताएका छन्।
उनले प्रस्ताव यसै वर्ष जुनमा अमेरिका र इरानबीच भएको समझदारीको ढाँचासँग मिल्दोजुल्दो रहेको दाबी गर्दै अमेरिकी मध्यावधि निर्वाचनअघि नै दुई देशबीच सम्झौता हुन सके त्यसले कूटनीतिक समाधानको बाटो खोल्ने धारणा राखेका छन्।
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको भेटमा अराघचीले कूटनीतिक प्रक्रिया अघि बढाउन इरानले अमेरिकी पक्षसमक्ष आफ्ना सर्त र आवश्यकताबारे स्पष्ट जानकारी गराइसकेको बताए। क्षेत्रीय सुरक्षा र स्थायित्व पुनःस्थापित गर्न अमेरिकी सैन्य हस्तक्षेप अन्त्य हुनुपर्ने उनको भनाइ थियो।
इरान आफ्नो आणविक कार्यक्रमको शान्तिपूर्ण समाधान खोज्न कूटनीतिक माध्यमबाट वार्ता गर्न प्रतिबद्ध रहेको अराघचीले बताए। उनले यसअघि भएका वार्ताका क्रममा इरानले देखाएको सद्भावलाई तथा अमेरिका र इजरायलबाट भएका सैन्य आक्रमणलाई बेवास्ता गर्न नसकिने दाबी गरे।
हर्मुज जलघाँटीमा उत्पन्न असुरक्षाका लागि इरानलाई मात्र जिम्मेवार देखाउने प्रयासको समेत उनले आलोचना गरे। उनका अनुसार अमेरिका र केही युरोपेली मुलुकले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन तथा एकपक्षीय दबाबका विषयलाई बेवास्ता गरेका छन्।
अराघचीले संयुक्त राष्ट्रसङ्घप्रति विश्वास पुनःस्थापित गर्न सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त पालना गर्नुपर्नेमा जोड दिए।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले ‘फक्स न्युज’सँगको अन्तर्वार्तामा जुनमा अमेरिका र इरानबीच भएको समझदारी कार्यान्वयन हुन नसक्नुमा अमेरिकी पक्ष जिम्मेवार रहेको आरोप लगाए। उनले इरानले हर्मुज जलघाँटी बन्द नगरेको दाबी गर्दै संवादमार्फत समस्या समाधान गर्न तेहरान अझै तयार रहेको बताए।
यसअघि पनि इरानले अमेरिकी सैन्य दबाब घटाइए तथा इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाइए सात दिनभित्र हर्मुज जलघाँटी पुनः खोल्न सकिने जनाएको थियो। इरानी अधिकारीहरूका अनुसार सेप्टेम्बर १६ मा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष प्रस्ताव पठाइएको थियो।
हर्मुज जलघाँटी विश्वकै महत्त्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापारिक मार्गमध्ये एक हो। यहाँको अवरोधले पश्चिम एसियाको सुरक्षा अवस्थामात्र नभई अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, तेलको मूल्य र विश्वव्यापी व्यापारमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्छ।






