एसियन गेम्स पुरुष क्रिकेट : नेपाल टस हारेर बलिङमा

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ।

आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने खेलमा टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल नेपाली समयअनुसार पौने ११ बजे सुरु हुँदैछ।

नेपालले एसियाली खेलकुदमा अफगानिस्तानविरुद्धको खेलबाट आफ्नो प्रतियोगिताको सुरुवात गर्न लागेको हो। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र आयोजक जापानसँगै रहेको छ। यसअघि बिहीबार भएको खेलमा अफगानिस्तानले जापानलाई पराजित गरिसकेको छ।

समूहमा शीर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। नेपाल क्वाटरफाइनलमा पुगेमा समूह ‘बी’ बाट अघि बढ्ने भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि भएको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो। त्यतिबेला नेपाल भारतसँग पराजित भएको थियो।

अफगानिस्तानविरुद्ध नेपालको प्लेइङ–११ :

दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा, सन्दीप लामिछाने, करण केसी र ललित राजवंशी।