काठमाडौं । नेपाली कांग्रेसले असोज १३ गतेभित्र पालिका अधिवेशन सम्पन्न गर्न मातहतका समितिलाई निर्देशन दिएको छ। कांग्रेस निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ।
देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण अधिवेशन प्रक्रिया प्रभावित भइरहेको जानकारी निर्वाचन अधिकृतहरूबाट प्राप्त भएको कटुवालले बताए।
मौसम प्रतिकूल रहेकाले असोज १० गतेका लागि तय गरिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम प्रभावित हुन सक्ने भन्दै कांग्रेसले सम्बन्धित क्षेत्रको मौसम अवस्था हेरेर निर्णय गर्न निर्देशन दिएको छ।
कटुवालका अनुसार मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा निर्वाचन कार्यक्रम सञ्चालन गर्न र प्रतिकूल अवस्था रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न भनिएको छ।
मौसम विभागलगायत विभिन्न निकायले केही दिन वर्षा जारी रहने र सतर्कता अपनाउन सूचना जारी गरेका कारण कांग्रेसले सोही अवस्थालाई मध्यनजर गर्दै निर्वाचन कार्यक्रम व्यवस्थापन गर्न निर्देशन दिएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन्। जिल्ला तथा प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने कांग्रेसको तयारी छ।






