नेपालविरुद्ध अफगानिस्तानले दियो १०३ रनको लक्ष्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो।

अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले ३ विकेट हात पारे।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। बिहीबार भएको समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो।

समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। क्वाटरफाइनलमा स्थान बनाए नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि भएको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनलमा पुगेको थियो। उक्त खेलमा नेपाल भारतसँग पराजित भएको थियो।