न्युयोर्क – पश्चिम एसियामा बढ्दो तनावबीच बहराइनको नेतृत्वमा ८० देशले रणनीतिक हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा खुला गर्न आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बहराइनका विदेशमन्त्री अब्दुललतिफ अल–जयानीले सहभागी देशहरूको तर्फबाट संयुक्त वक्तव्य सार्वजनिक गर्दै हर्मुज जलमार्गमा निर्बाध समुद्री आवागमन सुनिश्चित गर्न आग्रह गरेका हुन्।
अल–जयानीले जलमार्गमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा आपूर्ति तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने बताएका छन्। उनले मार्चमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव २८१७ को तत्काल कार्यान्वयन गर्न पनि आग्रह गरे। उक्त प्रस्तावले हर्मुज जलमार्गमा अन्तर्राष्ट्रिय आवागमन अवरुद्ध गर्ने कुनै पनि कदम वा धम्कीको विरोध गरेको छ।
संयुक्त वक्तव्यमा इरानबाट छिमेकी मुलुकविरुद्ध भएका भनिएका आक्रमण, अन्तर्राष्ट्रिय व्यापारमा परेको अवरोध तथा ऊर्जा सुरक्षामा उत्पन्न जोखिमप्रति चिन्ता व्यक्त गरिएको छ।
८० देशले अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज जलमार्ग तत्काल खुला गर्न तथा कुनै शुल्क, सर्त वा अन्य अवरोधबिना जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्न आग्रह गरेका छन्।
यसैगरी वक्तव्यमा यमनका हुथी समूहले पुनः सुरु गरेको गतिविधि, साउदी अरबमाथिका आक्रमण तथा लाल सागरमा भएका आक्रमणप्रति पनि चिन्ता व्यक्त गरिएको छ। हुथी गतिविधि बाब अल–मन्दब जलमार्गतर्फ विस्तार भएमा अन्तर्राष्ट्रिय समुद्री आवागमन, समुद्री सुरक्षा र विश्वव्यापी व्यापारमा थप जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
बहराइनले हर्मुज जलमार्गको स्वतन्त्र र सुरक्षित आवागमनलाई क्षेत्रीय मात्र नभई विश्वव्यापी व्यापार तथा ऊर्जा सुरक्षासँग जोडिएको विषयका रूपमा प्रस्तुत गरेको छ।






