काठमाडौं । सन्दीप जोरा र लोकेश बमको आक्रामक अर्धशतकमा नेपालले एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा जापानविरुद्ध १४९ रनको बलियो योगफल तयार गरेको छ।
वर्षाका कारण खेल १५ ओभरमा सीमित भएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको हो।
नेपालका लागि सन्दीप जोरा ३२ बलमा ५७ रन बनाएर अविजित रहे। उनले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। यस्तै लोकेश बमले २२ बलमा अविजित ५२ रन बनाए। ओपनर आसिफ शेखले २१ रनको योगदान दिए।
जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक ब्याटरलाई आउट गरे।
नेपालको इनिङ सकिएलगत्तै फेरि वर्षा सुरु भएपछि मैदानको पिचलाई कभरले ढाकिएको छ। वर्षा नरोकिए दोस्रो इनिङमा ओभर घट्न सक्ने वा खेल नै रद्द हुन सक्ने सम्भावना छ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। जापानविरुद्धको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ। खेल वर्षाका कारण रद्द भए पनि नेपाल समूह विजेता बन्दै श्रीलंकासँग क्वाटरफाइनल खेल्नेछ।






