आइतबारदेखि मौसममा सुधार हुँदै जाने

यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान

२४ जेठ, काठमाडौं । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने हुनेछ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ ।

वरिष्ठ मौसमविद् मीनकुमार आर्यालका अनुसार आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएकोजस्तो लागे पनि यो मनसुन नभई अन्य प्रणाली हो । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हने गर्दछ ।

यस वर्ष औषत समयभन्दा एक साता ढिलो मनसुन भित्रिने अनुमान मौसमविद्को छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा र प्रदेश नं ५ र प्रदेश नं २ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १२।८ मिलीलिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६।४, दिपायलमा २७।१, नेपालगञ्जमा ३।१, सिमारामा ३१।९, जुम्लामा १७।० र धनकुटामा ८।८ मिलीलिटर वर्षा भएको छ ।