आवश्यक सर्त पूरा भए एक सातामै होर्मुज जलडमरूमध्य खुल्ने :इरान

न्युयोर्क । इरानले आवश्यक सर्त पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारमार्फत अमेरिकालाई जलडमरूमध्य खोल्ने सातदिने ठोस योजना पठाइएको जानकारी दिए।

उहाँका अनुसार अमेरिकाले प्रस्ताव स्वीकार गरेपछि सात दिनको समयसीमा सुरु हुनेछ। योजनाअनुसार अमेरिकाले आवश्यक केही कदम चाल्नुपर्नेछ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्नेछ। छैटौँ दिनमा होर्मुज जलडमरूमध्य खोल्ने र सातौँ दिनमा अमेरिका–इरानबीच अन्तिम सम्झौताका लागि वार्ता सुरु गर्ने प्रस्ताव गरिएको उहाँले बताए।

अराघ्चीका अनुसार अमेरिकाले चाल्नुपर्ने भनिएका कदम नयाँ विषय नभई गत जुनमा दुवै देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेको समझदारीपत्रमै समेटिएका विषय हुन्।

अमेरिका सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न गम्भीर भए आवश्यक तयारी पूरा भइसकेको उहाँको भनाइ छ।

इरानले कुनै पनि प्रकारको दबाब, धम्की वा डर देखाउने प्रयास स्वीकार नगर्ने स्पष्ट पार्दै अराघ्चीले दबाबका कारण आफ्नो सार्वभौम अधिकारमा सम्झौता नगर्ने बताए।

गत जुन १८ मा अमेरिका र इरानले लेबनानसहित क्षेत्रका विभिन्न मोर्चामा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। समझदारीअनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने सहमति भएको थियो। तर पछिल्लो समय दुवै देशबीच तनाव बढेपछि अन्तिम वार्ताको अवस्था भने अझै स्पष्ट हुन सकेको छैन।