मौरीपालनबाट मनग्य आम्दानी

कात्तिक ४, बाग्लुङ ।
जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार सुसारमै बित्छ ।

उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ भनी चिनिन्छ । उद्योगमा सेरेना जातका दुई सय घार मौरी छन् । एक सय घारबाट मह र अर्को एक सय घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताए ।

‘मह र गोलाबाट वर्षमा रु १० लाख बढी कमाइ हुन्छ’, उनले भने । अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उनको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।

उपाध्यायको उद्योगमा वार्षिक १२ सय किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह पनि १२ सय रूपैयाँमा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ ५५ सय रूपैयाँ छ ।

‘बजारको कुनै समस्या छैन । बरु मह पुर्याउनै सकिएको छैन,’ उपाध्यायले भने । उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार÷पाँच पटकसम्म मह निक्लने गर्छ ।

मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएका छन् । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिने गरेका छन् ।

विसं २०४५ ताका काठमाडौँ चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिएका उपाध्यायले भने, ‘मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ । अरुलाई तालिम दिँदै हिँड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर २०५१ तिर व्यावसायिक मौरीपालन शुरु गरेँ ।’

मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उनी ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भइसकेका छन् ।

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उनको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी पाँच लाख रूपैयाँ अनुदान दिएको थियो ।

सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उनले बताए ।

‘मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु । मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो’, उनले भने । उपाध्यायको घर–व्यवहार मह÷मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोडेका छन् ।

उनलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह÷गोला बेच्ने प्रबन्ध मिलाउने गरेका छन् ।

घरमै रहेकी कान्छी बुहारी शर्मिला, उपाध्यायसँगै उद्योगमा दैनिक खट्ने गर्छिन् । ‘मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ’, खिराले भनिन्, ‘गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।’ (रासस)