गैंडाकोट । नारायणी नदीको तीव्र बहावले बगाएको क्रुज जहाज निकाल्ने प्रयास भइरहेको छ। पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२, बोटे टोलस्थित होटल रिभर क्राउनको क्रुज सोमबार साँझ नदीको बहावले बगाएको थियो।
बगेको क्रुज नारायणी नदीको पुलको पूर्वी नवलपरासीतर्फको पहिलो पिल्लर र जमिनको भागमा अड्किएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
क्रुज उद्धारका लागि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल नं. १७ गणका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँ तथा सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गुल्म, पूर्वी नवलपरासीबाट संयुक्त टोली परिचालन गरिएको छ।
टोलीले आवश्यक उद्धार सामग्रीसहित घटनास्थलमा पुगेर क्रुज निकाल्ने कार्य गरिरहेको जनाइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।






