बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा । लगातारको वर्षासँगै आएको पहिरो र रोशी नदीको कटानका कारण अवरुद्ध बनेको बीपी राजमार्गको खुर्कोट–भकुन्डेबेँसी खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । विभिन्न स्थानमा सडकमा क्षति पुगेपछि अवरोध हटाउने काम जारी रहेकाले यातायात सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

डिभिजन सडक कार्यालय, भक्तपुरको टोलीले सोमबार बिहानैदेखि सडक खुलाउने काम गरिरहेको छ । मौसमले साथ दिएमा मंगलबार असोज १३ गते अपराह्नदेखि सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको अधिकारीले बताए ।

बीपी राजमार्गमा वर्षायाममा बाढी, पहिरो र नदी कटानका कारण पटक–पटक समस्या दोहोरिँदै आएको छ । २०८१ असोजमा आएको अविरल वर्षा र रोशी खोलाको बाढीले काभ्रे खण्डमा ठूलो क्षति पुर्‍याएपछि राजमार्ग अहिले स्थायी पुनर्निर्माणको चरणमा छ । सडक बगेका स्थानमा तत्काल यातायात सञ्चालन गर्न विभिन्न ठाउँमा अस्थायी डाइभर्सन निर्माण गरिए पनि वर्षायाममा ती संरचनासमेत जोखिममा पर्ने गरेका छन् ।

राजधानी काठमाडौंलाई तराई तथा पूर्वी जिल्लासँग जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको बीपी राजमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो । राजमार्गमा हुने अवरोधले यात्रु र चालकसँगै स्थानीय बस्ती तथा व्यापार व्यवसायमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ ।

स्थायी पुनर्निर्माण अघि बढे पनि अस्थायी डाइभर्सनबाट यात्रा सहज हुन सकेको छैन । वर्षामा हिलो र घाम लाग्दा धुलो हुने तथा सडकको सतह असमान हुँदा सवारी सञ्चालनमा कठिनाइ हुने गरेको चालकहरू बताउँछन् ।

बीपी राजमार्गमा नियमित सवारी चलाउँदै आएका चालक विनोद दाहालका अनुसार सडक बगेका स्थानमा बनाइएका डाइभर्सन जोखिमपूर्ण छन् । “डाइभर्सनमा हिलो र धुलोको समस्या छ । सडकको अवस्था खराब हुँदा साना गाडीले ठाउँ–ठाउँमा भुइँ छुन्छन् । गाडी बिग्रने मात्र होइन, यात्रुको सुरक्षासमेत जोखिममा पर्ने गरेको छ,” उनले भने ।

राजमार्गसँग प्रत्यक्ष जोडिएका स्थानीय बासिन्दाले पनि स्थायी समाधानको माग गर्दै आएका छन् । रोशी गाउँपालिका–११ कालढुङ्गाका बुद्ध लामाका अनुसार बाढीले सडकसँगै बस्तीमा समेत ठूलो क्षति पुर्‍याएको थियो ।

“हाम्रो घरआँगन भएर जाने यही सडक नै आर्थिक गतिविधिको मुख्य आधार थियो । बाढीले बस्ती र सडक दुवैमा क्षति पुर्‍यायो । अहिले अस्थायी डाइभर्सनबाट जसोतसो यातायात चले पनि धुलो, हिलो र पानी पर्दा आउने बाढीको जोखिम कायमै छ,” उनले भने ।

स्थानीय तहले पनि पुनर्निर्माणलाई तत्कालीन मर्मतमा सीमित नगरी दीर्घकालीन र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपद्बाट पाठ सिकेर जोखिम कम हुने गरी सडक संरचना निर्माण गर्नुपर्ने बताए ।

उनका अनुसार कतिपय अति जोखिमयुक्त स्थानमा सडकको ट्र्याक नै परिवर्तन गरी सुरक्षित भूभागबाट सडक लैजानुपर्ने आवश्यकता छ । उनले पुनर्निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गरी प्राविधिक अध्ययनका आधारमा काम अघि बढाउनुपर्ने बताए ।

चार प्याकेजमा पुनर्निर्माण

सडक डिभिजन कार्यालय भक्तपुरले बर्खेखोलादेखि भकुन्डेबेँसीसम्मको २५ दशमलव ११ किलोमिटर सडक खण्डलाई चार प्याकेजमा विभाजन गरी पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाएको छ ।

सडक डिभिजन भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेशका अनुसार प्याकेज–१ अन्तर्गत बर्खेखोला–पिप्ले ३ दशमलव २२ किलोमिटर सडक खण्ड जाइका अनुदान सहयोगमा निर्माण भइरहेको छ । उक्त कामका लागि जापानी कम्पनी सिमिजु कर्पोरेसनसँग सम्झौता भएको छ । कन्सल्टेन्टका रूपमा निप्पोन कोइ को लिमिटेड तथा याहियो इन्जिनियरिङ कर्पोरेसन जेभी रहेको छ । यो खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्याकेज–२ अन्तर्गत पिप्ले–डालाबेसी २ दशमलव ३० किलोमिटर सडक निर्माणका लागि उमा एन्ड कम्पनी/भण्डारी अमर ज्योति जेभीसँग ठेक्का सम्झौता भएको छ । एक अर्ब २१ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त खण्ड ६८ करोड ८० लाख ४० हजार रुपैयाँमा सम्झौता भएको हो । हालसम्म ४० प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, प्याकेज–३ अन्तर्गत डालाबेसी–चारसयबेसी ८ दशमलव ५० किलोमिटर सडक खण्ड खानीरए वानरकमल जित जेभी काठमाडौंले निर्माण गरिरहेको छ । दुई अर्ब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त खण्ड एक अर्ब ४२ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो । यसमा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्याकेज–४ अन्तर्गत चारसयबेसी–भकुन्डेबेँसी ११ दशमलव ०९ किलोमिटर सडक खण्ड लामा–नव कान्तिपुर जेभी काठमाडौंले निर्माण गरिरहेको छ । दुई अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त खण्ड एक अर्ब ३३ करोड रुपैयाँमा सम्झौता भएको छ । हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको डिभिजन प्रमुख योगेशले जानकारी दिए ।

बाढी र पहिरो रोक्न संरचना निर्माण

सडकलाई बाढी तथा पहिरोबाट सुरक्षित बनाउन आरसीसी क्यान्टिलिभर वाल, माइक्रोपाइल, प्लम कङ्क्रिट तथा स्टोन मसनरीलगायतका संरचना निर्माणलाई प्राथमिकता दिइएको छ ।

डिभिजन कार्यालयका अनुसार ६ हजार ३०० मिटर आरसीसी क्यान्टिलिभर वालमध्ये ३ हजार ७६० मिटर निर्माण सम्पन्न भएको छ । एक हजार १४५ मिटर माइक्रोपाइलको काम शतप्रतिशत पूरा भएको छ ।

त्यस्तै, ५ हजार ७४० मिटर प्लम कङ्क्रिटमध्ये २ हजार १८९ मिटर अर्थात् ३८ प्रतिशत र ५ हजार ९०० मिटर स्टोन मसनरीमध्ये ४ हजार १०५ मिटर अर्थात् ७० प्रतिशत काम सम्पन्न भएको छ ।

वर्षायाममा यातायात अवरुद्ध हुन नदिन जोखिमयुक्त स्थानमा न्यूनतम ४ दशमलव ५ मिटर उचाइसम्म आरसीसी क्यान्टिलिभर वाल निर्माण गरी ग्राभेलस्तरको सडक तयार गरिएको कार्यालयले जनाएको छ ।

सम्भावित पहिरो तथा सडक अवरोध तत्काल हटाउन चौकीडाँडा, कटुन्जेबेँसी, चारसयबेँसी, गिम्तिबेँसी–नार्के, चिउरीबास–बोक्सिकुना, कालढुङ्गा, डालाबेँसी र सुक्खा पहिरोलगायतका स्थानमा १३ एक्स्काभेटर, ६ लोडर र ११ टिपर तयारी अवस्थामा राखिएको छ ।

अस्थायी डाइभर्सनमा पनि जोखिम

स्थायी पुनर्निर्माण अघि बढिरहे पनि अस्थायी डाइभर्सनमा बाढीको जोखिम कायमै छ । २०८२ असोज १७ र १८ गतेको अविरल वर्षासँगै आएको बाढीले अघिल्लो वर्ष निर्माण गरिएका डाइभर्सनमा समेत क्षति पुर्‍याएको थियो ।

चौकीडाँडादेखि नेपालथोकसम्म निर्माण गरिएका डाइभर्सनमा सडक डिभिजन कार्यालय भक्तपुरले करिब १० करोड रुपैयाँ खर्च गरेको थियो । तर, रोशी खोलाको बाढीले विभिन्न स्थानमा डाइभर्सन बगाएपछि राजमार्ग पुनः प्रभावित भएको थियो ।

यस वर्ष असोज ९ गतेदेखि परेको लगातारको वर्षाले पनि बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशी खोलाले सडक तथा डाइभर्सन कटान गरेको छ । नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेँसी, वडा नं. ८ गिम्तिबेँसी र वडा नं. ११ माम्तीमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ ।

चौकीडाँडामा रोशी खोलाले डाइभर्सन कटान गरेपछि काठमाडौंबाट पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमै रोकिएको छ । खुर्कोट–भकुन्डेबेँसी खण्ड बन्द हुनुमा पनि वर्षा, पहिरो र नदी कटानबाट उत्पन्न अवरोध मुख्य कारण बनेको छ ।

बीपी राजमार्गको पुनर्निर्माणमा तत्काल यातायात सञ्चालनमा राख्नु र दीर्घकालीन रूपमा सडकलाई सुरक्षित बनाउनु दुवै चुनौती देखिएका छन् । २०८१ सालको बाढीले मुख्य सडकमा क्षति पुर्‍यायो, २०८२ सालको बाढीले अस्थायी डाइभर्सनको कमजोरी उजागर गर्‍यो भने २०८३ सालको वर्षाले पुनः पहिरो, कटान र डाइभर्सनमा क्षति दोहोर्‍याएको छ ।

यसबीच स्थायी पुनर्निर्माणका विभिन्न प्याकेजमा काम अघि बढिरहेको छ । निर्माणाधीन संरचना समयमै सम्पन्न गर्नुका साथै उच्च जोखिमयुक्त स्थानमा दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ । सुरक्षित र भरपर्दो सडक निर्माण हुन सकेमा मात्रै बीपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको यातायात अवरोध न्यूनीकरण गर्न सकिनेछ ।