भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

काठमाडौँ – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने भएको छ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने गरी निर्वाचन तालिका निर्धारण गर्नुभएको हो।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।

समितिको कार्यावधि तीन महिना तोकिएको छ। आवश्यक परे समितिको म्याद थप गर्न सकिने व्यवस्था पनि गरिएको छ।

समितिले भोटेकोशी–त्रिशूली विपद्को कारण, प्रभाव र क्षतिको अध्ययन तथा अनुगमन गर्नेछ। साथै विपद्को उत्पत्ति, घटनाक्रम, तत्कालीन कारण तथा जोखिम बढाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

त्यस्तै, हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, विपद्सँग जलवायु परिवर्तनको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरबारे समेत समितिले अध्ययन र समीक्षा गर्नेछ।

खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामको अनुगमन गर्नुका साथै विपद् जोखिम न्यूनीकरण र पूर्वचेतावनी प्रणालीको अवस्थाबारे अध्ययन गरी आवश्यक सुझाव दिने कार्यादेश पनि समितिलाई दिइएको छ।