चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ (चितवन)। भरतपुरस्थित जिल्ला कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित रहेका छन्। कारागार कार्यालयका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, क्षयरोग, मानसिक रोग, क्यान्सर तथा एचआइभी/एड्सलगायत रोगबाट प्रभावित छन्।

कारागारमा रहेका दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीको संख्या बढी छ। कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार ४२ जना बन्दी उच्च रक्तचाप र २२ जना मधुमेहबाट पीडित छन्।

कारागार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा क्यान्सरका कारण एक जना बन्दीको मृत्यु भएको छ। यसअघि आर्थिक वर्ष २०८२/८३ मा एक जना र २०८१/८२ मा पनि एक जना बन्दीको क्यान्सरका कारण मृत्यु भएको थियो।

भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि विभिन्न कारागारबाट क्यान्सरपीडित बन्दीलाई रिफर गरिँदै आएको छ। कार्यालयका अनुसार उपचारका लागि अस्पताल पुर्‍याइएका कतिपय बिरामीमा रोग अन्तिम चरणमा पुगिसकेकाले उपचारकै क्रममा मृत्यु हुने गरेको छ।

हाल चितवन कारागारमा तीन जना क्यान्सरपीडित बन्दी रहेका छन्। तीमध्ये दुई जना कारागारमै रहेका छन् भने एक जना अस्पतालमा उपचाररत छन्। यस्तै, अन्य रोगका एक जना बन्दी पनि अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।

कारागारभित्र रहेका बिरामी बन्दीको नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक औषधोपचार स्वास्थ्यकर्मीबाट गरिँदै आएको सूचना अधिकारी ढुङ्गानाले बताए। स्वास्थ्यमा थप समस्या देखिएका बन्दीलाई आवश्यकताअनुसार बाहिरी अस्पतालमा उपचारका लागि पठाउने गरिएको उनको भनाइ छ।

कारागारमा रहेका पाँच जना एचआइभी सङ्क्रमित बन्दीले नियमित रूपमा एआरटी औषधि सेवन गरिरहेका छन्। कारागार प्रशासनले उनीहरूको नियमित स्वास्थ्य निगरानी तथा औषधि सेवनको व्यवस्था मिलाउँदै आएको जनाएको छ।

हाल जिल्ला कारागार कार्यालय चितवनमा ७१७ पुरुष र ४२ महिला गरी ७५९ बन्दी तथा दुई जना आश्रित नाबालक रहेका छन्।