तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको ‘क्रुजसिप’

काठमाडौं । नारायणी नदीको भीषण बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुजसिप’लाई तीनवटा क्रेनको सहायताले सफलतापूर्वक निकालिएको छ।

आइतबार साँझ नारायणी नदीमा आएको उच्च बाढीका कारण बहँदै गएको उक्त क्रुजसिप पुलको गैँडाकोटतर्फको पिलरमा गएर अड्किएको थियो। अड्किएको क्रुजलाई ठूलो जोखिमबीच क्रेनको प्रयोग गरी गैँडाकोटतर्फकै किनारमा तानेर सुरक्षित स्थानमा पुर्‍याइएको हो।

उद्धार कार्यका लागि तीनवटा भारी क्षमताका क्रेनहरू परिचालन गरिएको थियो। बाढीको तीव्र बहावका बीच प्राविधिक टोली र उद्धारकर्ताहरूको निरन्तर प्रयासपछि क्रुजलाई पुलबाट अलग गरी किनारमा ल्याउन सफलता मिलेको हो।