प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्।

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गरेकी छन्।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले अन्तर्राष्ट्रिय सम्बन्ध तथा सामरिक विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानका माध्यमबाट दक्ष, सक्षम तथा जिम्मेवार स्वदेशी र विदेशी जनशक्ति उत्पादन गर्ने उद्देश्यले विधेयक ल्याइएको जानकारी दिइन्।

उनका अनुसार बदलिँदो अन्तर्राष्ट्रिय सुरक्षा परिवेश र भू–राजनीतिक संवेदनशीलताका बीच उत्पन्न सुरक्षा चुनौतीको सामना गर्न नेपालमै सैनिक तथा गैरसैनिक अधिकारीलाई उच्च शिक्षा र आवश्यक तालिम प्रदान गर्ने उद्देश्य विधेयकमा समेटिएको छ।

त्यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पनि पेस गरेकी छन्।

यससँगै प्रतिनिधिसभाको जारी बैठकमा विधेयक तथा समितिका प्रतिवेदनमाथिको संसदीय प्रक्रिया अघि बढाइएको छ।